बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो

काठमाण्डु टुडे २०८२ फागुन २० गते १६:०९ मा प्रकाशित

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ ।

बागलुङ– २ अन्तर्गतको गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो ।

ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत रहेका गैरेले निर्वाचन अधिकृतको जिम्मेवारी अनुसार काम गर्न नसक्ने भन्दै जिम्मेवारी खोसिएको छ ।

मतदान अधिकृतहरूको व्हाट्सएप समूहमा उनले लेखेका केही अभिव्यक्ति तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको बागलुङ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीले जानकारी दिएका छन ।

मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ । गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको सुवेदीले जानकारी दिएका छन ।

मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालयबागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us