काठमाण्डू, २० फागुन– निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार गरेको छ ।
भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग हुने भएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्याइसकिएको छ ।
जसमा डोल्पाका २३ वटा र हुम्लाका ४ वटा मतदान केन्द्र रहेका छन् । मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिएका छन । उनले भने, ‘हामीले हुम्ला र डोल्पा जिल्लाको जम्मा २३ वटा डोल्पाको र ४ वटा हुम्लाको गरेर २७ वटा स्थानमा हेलिबाटै मतपत्र र ब्यालेटदेखि लिएर कर्मचारी र सुरक्षाकर्मीहरू पठायौं ।
त्यसमा अब १५ अरु थप १५ जिल्लाहरूको ६१ स्थानबाट यो मतदान केन्द्र धेरै हुन्छन् तर ६१ स्थानबाट ताप्लेजुङ्गदेखि दार्चुलासम्मका ६१ स्थानबाट यो मतदान पछाडिको ब्यालेट बक्सहरू हेलिबाट संकलन हुन्छ ।’
ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थान बाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका संकलन गरिनेछ ।
मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ ।
‘अरु सवारी साधनबाट संकलन गर्ने सन्दर्भमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन आयोगले ढुवानीको रकम पठाएको छ र उहाँहरूले ढुवानी कार्ययोजना बनाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा त्यो मतपेटिका मतपत्र सहितको मतपेटिका मतगणना स्थलमा ल्याइन्छ । १६५ वटा मतगणना स्थलमा ल्याइन्छ,’ उनले भने ।