काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणना स्ठल पनि तयार पारिएको छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए । तारजाली लगाइएको ठाउँमा सिसीटिभीमार्फत निगरानी हुने ठाउँमा मतगणना हुनेछ ।
उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्ने गरी व्यवस्थापन मिलाइएको उनले बताए । ‘मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत गिरीले भने, ‘मतगणनास्थलमा कार्पेट बिछ्याउने तारजाली लगाउने, सीसीटिभी जडान तथा विद्युतको बैकिल्पक व्यवस्थाको रुपमा जेनेरेटर तयारी अवस्थामा राखिएको छ ।’
प्रत्यक्षतर्फको मतगणनापछि समानुपातिक मतगणना गर्ने तयारी छ । जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।