रोल्पाका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाण्डु टुडे २०८२ फागुन २० गते १२:४७ मा प्रकाशित

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री लिएर कर्मचारीहरु पुगेका छन ।

सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेको सहायक जिल्ला निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिएका छन ।

रोल्पामा ८६ वटा मतदान स्थल रहेकामा दुई अस्थायी मतदान केन्द्र र १८० स्थायी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसक्नु भएको छ,’ लम्सालले भने । बुधबार दिउँसोसम्म निर्वाचनका लागि सबै तयारी पुरा हुने उनले जानकारी दिए ।

रोल्पामा २४ जना महिला मतदान अधिकृत, ३६ जना महिला सहायक मतदान अधिकृत, १९३ जना महिला सहायक कर्मचारी र ६८ जना महिला सहयोगी कर्मचारी रहेका छन ।

पुरुषतर्फ १५८ जना मतदान अधिकृत, १४६ जना सहायक मतदान अधिकृत, ३४७ जना सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी रहेका छन् । स्वयंसेवकहरु समेत गरेर जम्मा १ हजार ६२२ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

१ हजार २९ जना निर्वाचन प्रहरी, ६ सय १० जना नेपाल प्रहरी, ३ सय जना सशस्त्र प्रहरी र ४५० जना नेपाली सेना गरी जम्मा २ हजार ३८९ जना सुरक्षाकर्मी परिचालन गरिएको रोल्पा प्रशासनले जनाएको छ । रोल्पामा १० वटा स्थानीय तह र ७२ वटा वडा रहेका छन् । रोल्पामा एक लाख ४९ हजार ५९७ मतदाता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us