काठमाण्डू, १९ फागुन– काठमाण्डूको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी रहेको खुलेको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए ।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८ः४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो ।
फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनलाई बिहान ८ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिएका छन ।
टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाण्डूको पेप्सीकोला बस्ने २६ वर्ष विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।