काठमाण्डू, १८ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई अनुरोध गरेकी छन ।
आज (सोमबार) देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा उभिएको बताउँदै आफ्नो र सन्ततिको भविष्यका लागि मतदान गर्न अनुरोध गरेकी हुन ।
निर्वाचनको तीन दिनअघि विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।’
आफ्नो कार्यकालको स्मरण गर्दै प्रधानमन्त्री कार्कीले ‘जेन–जी आन्दोलन’ पछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले सरकारको नेतृत्व लिएको बताइन् ।
सडकमा युवाहरूको आक्रोश र देशको भविष्य अन्योलमा रहेको अवस्थाबाट मुलुकलाई हिंसात्मक मोडबाट जोगाउँदै शान्तिपूर्ण निकास र संविधानको बाटोमा फर्काउनु नै आफ्नो सरकारको मुख्य उपलब्धि भएको उनले दाबी गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ ।’
निर्वाचनको मुखमा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन सामग्री र भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखेको प्रधानमन्त्रीले स्पष्ट पारिन् ।
उनले भनिन्, ‘‘मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन। कानुनबमोजिम कारबाही गर्न सरकार पछि हट्ने छैन ।’