काठमाण्डू, १५ फागुन– कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने बताएका छन ।
आज (शुक्रबार) पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेकाको सम्पत्ति छानबिन गर्ने पनि बताएका हुन ।
सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर पनि गरे ।
सभापति थापाले भने, ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं ।
त्यो शक्तिशाली आयोगले ०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानबिन शुरु गर्छ, आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ ।
र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न ।’ सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए ।