भोट हाल्नका लागि ८ लाख मतदाताले काठमाण्डू छाड्दै

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १५:५५ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि काठमाण्डूमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन सुरु गरेका छन ।

निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

जसअनुसार अब गाउँ फर्किनेहरूका लागि अब अब ५ दिनको समयमात्रै बाँकी रहेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले निर्वाचनमा करिब ७ देखि ८ लाख मानिसले काठमाण्डू छोड्ने अनुमान गरिएको जानकारी दिएका छन ।

सिटौलाले पछिल्ला केही दिनदेखि नै मानिसहरू बाहिरिने क्रम सुरु भइसकेको बताउँदै अबको केही दिनमा यो सङ्ख्या अझै बढ्ने पनि बताएका छन । विशेषगरी मधेस प्रदेशमा होली पर्व नजिकिएको र निर्वाचनका कारण अत्यधिक चाप देखिएको उनले बताए ।

विगतका चुनावहरूमा राजनीतिक दलहरूले नै ठुलो सङ्ख्यामा गाडी रिजर्भ गर्ने र मतदाताको भाडा तिर्ने प्रचलन बढी हुने गरेको भए पनि यस पटक त्यस्तो अवस्था कम देखिएको सिटौलाले बताए ।

उनले भने, ‘अहिले दैनिक बुकिङ नै भइरहेको छ, अग्रिम बुकिङको चाप त्यति छैन । पार्टीहरूले नै रिजर्भ गरेर लाने भन्दा पनि मानिसहरू आफैँ वा समूहमा रिजर्भ गरेर जाने क्रम बढी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us