काठमाण्डू, १५ फागुन– सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा अयोगका प्रतिस्पर्धी गणेश महतो रहेको खुलेको छ ।
गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश महतोले बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए ।
वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका उनले यादवको हत्या गरेर उनको सिटमा जागिर खाने योजना बनाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सरोज राईले जानकारी दिएका छन ।
एसपी सरोज राईले भने, ‘आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन्, उनकै योजनामा सब–इन्जिनियरको हत्या भएको देखिन्छ ।’
प्रहरीले उनीसहित हत्यामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई पक्राउ गरेको हो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमानाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।