फागुन २१ को चुनावलाई कसैले पनि सामान्य मान्नुहुँदैनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने तर्क गरेका छन ।

आज (शुक्रबार) काठमाण्डूमा भएको नेकपा नुवाकोट–काठमाण्डू सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । मुलुकमा अहिले दुई किसिमका अतिवाद रहेको भन्दै त्यसका विरुद्ध लड्न नेपाली कम्युनिस्ट पार्टी खडा भएको पनि बताएका छन ।

संयोजक प्रचण्डले भने, ‘भदौ २३ गते युवाहरूलाई दमन गर्ने र २४ गते विध्वंस गर्ने दुवै अतिवादका विरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ, ‘त्यसकारण यो निर्वाचनलाई कसैले पनि सामान्य रूपमा लिनुहुँदैन ।’

प्रचण्डले अहिलेको निर्वाचन लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिला, दलित, जनजाति, मधेसी मुस्लिमलगायतको अधिकारको रक्षा गर्ने सवालमा पनि फागुन २१ को निर्वाचनको महत्त्व रहेको समेत बताएका छन ।

प्रचण्डले भने, ‘अधिकारहरू माथिको धावा बोल्ने र बचाउनेहरूका बिचको लडाईंका रूपमा पनि यो निर्वाचन अगाडि आउँदैछ’ त्यसकारण यो निर्वाचनलाई हामीले राष्ट्रको स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नका लागि जीवन मरणको सङ्घर्षका रूपमा अगाडि आएको छ ।’

उनले मुलुकमा अहिले देखिएका दुई अतिवादका विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गरेर नै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान दिने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us