अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैनः ओली

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको दाबी गरेका छन ।

अध्यक्ष ओलीले मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्‌ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको पनि बताए ।

आज (शुक्रबार) झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले देशमा आई परेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताएका छन ।

अध्यक्ष ओलीले एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर चुनावमा केन्द्रित भएको उल्लेख गर्दै आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने समेत बताएका छन । ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए ।

चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको उनको भनाइ छ । कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरेका छन । कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए ।

उनीहरूको जिज्ञासामा ओलीले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us