काठमाण्डू, १५ फागुन– एमालेका नेता ईश्वर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने तर्क गरेका छन ।
एमाले नेता पोखरेलले लिकबाट तल झरेको मुलुकको लोकतान्त्रिक एवं संवैधानिक प्रक्रियालाई लिगमा ल्याउने अवसरको रूपमा यो निर्वाचनलाई लिनुपर्ने बताए ।
काठमाण्डू–५ का उम्मेदवार समेत रहेका पोखरेलले आज शुक्रबार काठमाण्डू आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन । उनले भने, ‘यो निर्वाचन वास्तवमा भन्ने हो भने मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिकबाट तल झरेको दुर्भाग्यपूर्ण अवस्था हो ।
लिकबाट तल झरेको यो अवस्थालाई लिकमा ल्याउनुपर्ने आवश्यकता छ । यही आवश्यकता पूरा गर्नका लागि निर्वाचनमा हामी सबै सरिक हुनुपर्ने, सहभागी हुनुपर्ने र निर्वाचनलाई सही परिणाम दिने एउटा अवसरको रूपमा परिणत गर्नुपर्ने आवश्यकता छ ।’