प्रतिनिधि सभा निर्वाचनः दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।

७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने तयारी गरीएको छ ।

पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जानकारी दिएको छ ।

निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us