काठमाण्डू, १५ फागुन– कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न अनुरोध गरेका छन ।
आज (शुक्रबार) रूपन्देहीको बुटवलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न अनुरोध गरेका छन । सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ ।
नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस्, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’
सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह समेत गरेका छन । सभापति थापाले भने, ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् ।
तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’ थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।
‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस्–भन्नुस्– यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ।’
कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे ।