काठमाण्डू, १४ फागुन– निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने), कूटनीतिक नियोगका सवारी साधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन फागुन २० गते राति १२ः ०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन ।
मतदानको मितिभन्दा सातदिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ ।
बैठकबाट निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो ।