सरकारी छाप किर्ते गरी करोडौँ ठगी गर्ने गिरोह झापाबाट पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १३:४० मा प्रकाशित

काठमाण्डू, १४ फागुन– प्रहरीले सरकारी छाप, दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एउटा ठूलो गिरोहलाई झापाबाट पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–८ को एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको टोलीले शंकास्पद अवस्थामा चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका डब्लूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर र डब्लूबी ०६ यू ३००६ नम्बरको सुजुकी बलेनो गाडीलाई चेकजाँच गर्दा यो गिरोहको भण्डाफोर भएको हो ।

पक्राउ परेकामध्ये अरिन्दम धरको साथबाट आन्तरिक राजस्व विभागको नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सार विभागको कागज र नेपाल सरकारको निशाना छाप भएको स्ट्याम्प प्याड बरामद भएको छ ।

गिरोहका सदस्य सुमन सरकारको साथबाट संजय कुमार गिरी को नाममा बनाइएको नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक ९सई० को नक्कली परिचयपत्र समेत फेला परेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो गिरोहले ब्ल्याक मनी वा ठूलो वैधानिक रकम जफत भएको नाटक गरी मानिसहरूलाई ठग्ने योजना बनाएको देखिन्छ। उनीहरूले नोटको आकारका सादा कागजका २३७ वटा बन्डल बनाएर त्यसको माथि र तल मात्रै सक्कली नोट राखी फोटो र भिडियो खिचेर मानिसहरूलाई प्रलोभनमा पार्ने गरेका थिए ।

उनीहरूले मेचीनगर–४ स्थित एक होटलमा डेढ महिनाअघि नै २१ वटा टिनका बाकसमा यस्ता कागजका बन्डल राखेर भिडियो सुट गरेका थिए ।

उक्त भिडियो देखाएर उनीहरूले हाम्रो ठूलो रकम नेपाल सरकारले जफत गरेको छ, पेनाल्टी तिरेपछि रकम फुकुवा हुन्छ, अहिले केही पैसा लगानी गरे पछि ठूलो नाफा दिन्छौँ भन्दै व्यापारीहरूलाई जालमा पार्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर (४५ वर्ष), दिपा भौमिक (३६ वर्ष), सुमन सरकार (३५ वर्ष), नुर कलाम शेख (३७ वर्ष), अबेद अली होसैन (५२ वर्ष) र फारुक अज्मी (२० वर्ष) रहेका छन् । उनीहरूसँगै झापाको कमल गाउँपालिका–६ बस्ने ४३ वर्षीय देवेन्द्र सापकोटा पनि पक्राउ परेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us