राजेन्द्र लिङदेनको आग्रहः ‘फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्’

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १३:२० मा प्रकाशित

काठमाण्डू, १४ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन ।

आज (बिहिबार) काठमाण्डू–२ को चुनावी अभियानलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न समेत अनुरोध गरेका छन ।

अध्यक्ष लिङ्देनले भने, ‘विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरेका छन ।

उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताएका छन ।

उनले हाल देशको अस्तित्व नै संकटमा परेको पनि बताएका छन । उनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्ने पनि बताएका छन ।

अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए ।

नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित हुनुपर्ने आवश्यकता औँल्याए ।

वैदेशिक हस्तक्षेप र विदेशी चलखेलबारे काठमाण्डूवासी सचेत रहेको उनको भनाई छ । अध्यक्ष लिङदेनले देश जोगाउनका लागि र काठमाण्डू– २ को सहित देशभरको विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us