थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भनेः अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ?

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– विवादास्पद मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज थुनामुक्त भएका छन् ।

उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । चुनावसम्म थुनाभित्रै राख्ने सरकारको रणनीति भए पनि अदालतले भने फेरि एकपटक प्रसाईंको पक्षमा आदेश गरेको छ ।

आदेश हिजो आए पनि प्रक्रिया पूरा गरेर प्रसाईं आज निस्किएका हुन् । बाहिरिनासाथ उनले युट्यूवर भेला गराएर आफ्नै शैलीमा भाषण दिँदै देश युक्रेनको बाटोमा गएको दाबी गरेका छन । उनले आफू अहिले रुन मात्रै नसकेको उनले बताए । उनले भने, ‘यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो ।

यो कुरा भन्नुपर्दाखेरि मेरो हृदय फुटेको छ । म रुन मात्रै सकेको छैन । मेरो आँखाबाट आँसु हत्तपत्ति झर्दैन र मात्रै । युक्रेनको बाटोमा लानलाई नेपाली सेना किन उद्यत हुँदैछ रु किन चुनाव हुनुभन्दा एक महिना अगाडिदेखि निस्किँदैछ सडकमा ?’ आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर अहिले राजाले नै चुनाव हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको पनि उनले बताए ।

‘मलाई थुन्ने ठाउँमा मैले श्रीमानलाई पनि भनेँ, राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो, राजसी शैलीमा । चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ त्यो, त्यो काठमाण्डूको सिडिओको ?

के लोकतन्त्रमा बोल्न पाइँदैन ?’ उनले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति समेत दिएका छन । उनले भने, ‘राजाका अगाडि बाबाको दुहाइ भन्छन् । अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले राजा पनि अब बाटोमा निस्किने कुरा सुनेको छु ।

राजा बाटोमा निस्किँदाखेरि नि, विदेशी सेना आयो भन्न सक्दिनँ, होइन भने नेपाली सेना, नेपाली पुलिस र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्छन् ।’ हालैमात्र प्रसाईंले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेको तस्विर सामाजिक सञ्जालमा आएको थियो । प्रसाईंले यसबारे पनि स्पष्टीकरण दिए । उनले तस्विर पुरानो भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us