निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो ग्यास आयात

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १२:०२ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको छ ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिएका छन ।

कार्यकारी निर्देशक भट्टका अनुसार भारतीय आयल कर्पोरेसनबाट यस वर्षकै सबैभन्दा बढी ग्यास लोड भई नेपालतर्फ प्रस्थान भएको छ । हिजो मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ । यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो ।

निगमका अनुसार बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड भएको छ ।

कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगम सचेत रहेको र आपूर्ति व्यवस्थालाई नियमित बनाइएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us