काठमाण्डू, १२ फागुन– अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।
सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानेका थिए ।
नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर थापा रहेको उल्लेख गरेको छ । खसोखासले थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको उल्लेख गरेको छ ।
प्रहरीका अनुसार, अन्दाजी ५० वर्षका ती व्यक्तिले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए ।
उनीहरूको अस्पतालमा मृत्यु भएको थियो । फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए। हतियार भुइँमा फाल्न पटक–पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए ।
‘हाम्रा प्रहरी अधिकारीले गोली चलाउँदा (ज्वाइँको) ज्यान गइरहेको अवस्था थियो,’ डेभिसले सोमबार पत्रकार सम्मेलनमा भने। प्रहरीका अनुसार अधिकारीहरूले तुरुन्तै ती संदिग्धलाई सीपीआर दिएका थिए, तर घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरियो ।
अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको डेभिसले बताए। ‘ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाइरहेका थिए, त्यतिबेला अपार्टमेन्टभित्र होहल्ला सुनेपछि उनले ९११ मा फोन गरे र आफ्नो कोठामा फर्किए,’ डेभिसले भने।