काठमाण्डू, ११ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बाचा पत्र ल्याएका छन् ।
उनले केपी शर्मा ओलीको पहलमा दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचापत्रमा लेखिएको छ, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’
करोडौं लगानी गरेर बनाइएको भ्युटावर लामो समय सञ्चालनमा नआउँदा यो ओलीको आलोचनाको विषय बन्ने गरेको छ ।
बालेनले सोमबार सार्वजनिक गरेको बाचापत्रमा संविधानको परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरुलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पहिलो प्रतिबद्धता जनाएका छन् ।
संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बाचा गरेका छन् । झापा केन्द्रित बाचापत्रमा बालेनले भनेका छन्, ‘राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु ।’ सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने उनको प्रतिबद्धता छ ।
बाचापत्रमा उनी लेख्छन्, ‘स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्नेछु ।’ नेपाल सरकार र जेनजी बीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्ने उनको अर्को प्रतिबद्धता छ ।