झापा ५ को सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने बालेनको बाचा

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ को सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

आज (सोमबार) वरिष्ठ नेता बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ, ‘झापा ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ ।’ झापा ५ मा मात्रै १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेको अनौपचारिक तथ्यांक छ ।

झापा जिल्लाभर भने ५० हजार सात सय बढी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ । झापा ५ भित्रको दमक नगरपालिकामा मात्रै ६ हजार ३४६, कमल गाउँपालिकामा ८१८, गौरादहमा २ हजार ६६०, गौरीगञ्जमा २ हजार १४६ बढी परिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेका छन् ।

यी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी समस्या रास्वपाको सरकार बनेको एक हजार दिनमा सक्ने प्रतिबद्धता बालेनले गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us