काठमाण्डू, ५ फागुन– प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित बरडाँडाबाट दुई वटा सवारीसाधसहित ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रहरीले मंगलबार बिहान बरडाँडाबाट बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप र बीएसी ३२३६ नम्बरको गाडीबाट ९ सय ५५ केजी गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।
दुवै गाडीका चालक चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ र बाराको कोल्वी नगरपालिका–८ का २८ वर्षीय सन्दीप कुमार माझीलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिएका छन ।
बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअपबाट ३३ पोका र अर्को बीएसी ३२३६ नम्बरको गाडीबाट २३ पोका गाँजा बरामद भएको हो ।
चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेको सवारीसाधनहरू संकास्पद लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भाएको उनले जानकारी दिए ।
प्रहरीले सोमबार मात्र धरानबाट लागुपदार्थसहित पाँच जनालाई पक्राउ गरेको थियो ।