काठमाण्डू, ५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिएका छन ।
आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले जानकारी दिएका छन । उनले भने, ‘प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ ।
४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौं ।’ केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो ।
यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।