काठमाण्डू, ५ फागुन– गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका– १ बस्ने २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो ।
मुखिया प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका मुखिया यसअघि नै गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन ।
उनलाई मकवानपुर जिल्ला अदालतले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सोही सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेका उनी गत २०८२ भदौ २४ गते कारागार तोडेर फरार भएका थिए ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका मुखिया पुनः चोरी कार्यमा संलग्न भएको अवस्थामा फेला परेपछि अहिले बारा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।