काठमाण्डू, ५ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह गरेका छन ।
ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरे ।
राष्ट्रपति पौडेलले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको धारणा राखे ।
मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको पनि बताएका छन । यस्तै राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उल्लेख गरे ।
उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको पनि बताएका छन ।
शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएको शेर्पा जाति विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुसीको विषय भएको उनले बताए । ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइदैछ ।