काठमाण्डू, ३ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी कार्य सुरु गरेको छ ।
छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको हो ।
हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । आयोगले दिएको विवरणअनुसार हालसम्म कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको छ ।