टी–२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन

काठमाण्डु टुडे २०८२ फागुन ३ गते १३:३१ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाउन सफल भएको हो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाउन सफल भएका थिए ।

४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रले १९ औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए ।

यस क्रममा उनले ३ चौका र २ छक्का हाने । दीपेन्द्र टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी–२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए ।

उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे । सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे ।

यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थियो । यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्‍यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us