काठमाण्डू, २ फागुन– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा दर्शन गर्न आउने साधुसन्तको चहलपहल बढेको छ । हरेक वर्ष महाशिवरात्रिमा यहाँ ठुलै संख्यामा नेपालदेखि भारतसम्मका साधुसन्तको उपस्थिति रहन्छ ।
गुठी संस्थानले यसवर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्व सुरु गरिसकेको छ । यसवर्ष फागुन ३ (आइतबार) महाशिवरात्रि भएपनि संस्थानले शुक्रबारदेखि सुरु गरेर ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गरिरहेको छ ।
महाशिवारात्रिका अवसरमा पर्वअवधिभर संस्थानले पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाण्डूका विभिन्न अखडाहरूमा साधुसन्तको सेवाको प्रबन्ध मिलाएको छ ।
जसमा दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गरेको छ । यस्तै फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङका कार्ड वितरण गरी सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा दिएर बिदाइ गरिने छ ।