काठमाण्डू, २ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) धादिङबाट गोरखा हुँदै लमजुङको कार्यक्रममा सहभागी हुने प्रचार थियो । उनले धादिङमा गाडीबाटै रोड शो गरेर आशिका तामाङलाई मत मागे ।
त्यसपछि गोरखा छिरेका उनी केही समय क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङसँग बिताए । त्यसपछि गोरखकाली दरबार पुगेर उनी सीधै पोखरा आएर बसेका छन् । उनी पोखरा आएको पार्टीको संरचनालाई पनि खासै जानकारी छैन ।
‘लमजुङमा कार्यक्रम छ भन्ने सुनेको हो । त्यसपछिको सेड्युल थाहा थिएन,’ एक नेताले भने, ‘तर, उहाँ राती नै पोखरा आएर बस्नुभएको छ भन्ने विहान मात्रै थाहा भयो ।’ आज लमजुङमा हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ ।
उम्मेदवार धर्म केसीका अनुसार पार्टीको बाचापत्र लगायत विभिन्न कामले गर्दा उनी कार्यक्रम स्थगित गरेर फर्किएका हुन् । ‘उहाँको गोरखा, तनहुँ र लमजुङ भ्रमण बाँकी छन् ।
अहिले व्यस्तताले स्थगित भएको छ,’ उनले भने, ‘गोरखामा पनि हिजो मन्दिर दर्शनका लागि मात्र जानुभएको हो । केही दिनभित्रै फेरी आउनहुन्छ ।’केन्द्रबाट नै शुक्रबार दिउँसो बालेनको भ्रमणबारे खबर पुगेको र साँझ स्थगित भएको खबर आएको उनले जानकारी दिए ।