‘तल्लो जात’ भन्ने शब्द बोलेपछि संसद्‌मा नियमापत्ति

काठमाण्डु टुडे २०८२ फागुन १ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, १ फागुन– राष्ट्रिय सभामा तल्लो जात’ भन्ने शब्दलाई लिएर नियमापत्ति भएको छ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले शुक्रबारको सभामा बोल्ने क्रममा यो शब्द प्रयोग गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘‘तल्लो जातको भनेर जस्तो त्यहाँ डुम भन्ने हुन्छ । दुसाद भन्ने हुन्छ । चमार भन्ने हुन्छ । त्यो खालको समुदायमा एकदमै उत्पीडन छ ।’ मधेश प्रदेशमा पछाडि परेका समुदाय र त्यसमा पनि महिला अझ धेरै उत्पिडमा रहेको भनेर व्याख्या गर्ने क्रममा अर्यालले ‘तल्लो जात’ भन्ने शब्द प्रयोग गरेकी थिइन् ।

तर, यो शब्दले दलित समुदायको अपमान गर्ने भनेर अर्का सांसद पदम परियारले नियमापत्ति गरेका हुन् । नेपालमा ६० लाख भन्दा बढी दलित समुदाय रहेको उल्लेख गर्दै उनले उनीहरूको अपमान गर्ने शब्द प्रयोग गर्न नपाइने तर्क गरे ।

नेपालको संविधानमा नेपालमा कुनै पनि जातजाति तल्लो वा माथिल्लो, उच्च वा निच भन्ने नरहेको भनेर उनले नियमापत्ति गरेका हुन् ।

सांसद परियारले अर्यालले प्रयोग गरेको शब्दलाई संसदीय रेकर्डबाट हटाउन माग गरे । जवाफमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नियमापत्तिको सन्दर्भमा अध्ययन गर्न संसद सचिवालयलाई निर्देश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us