काठमाण्डू १ फागुन– एमालेले ३ फागुनपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएपनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाण्डू फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार अध्यक्षले अध्ययन सकेर थपघट गर्नुपर्ने विषयहरू समेत समावेश गर्नुपर्ने भएकाले फागुन ३ गते अघि घोषणापत्र सार्वजनिक गर्न कठिन रहेको छ । ‘घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भएको छ, तर फागुन ३ भित्रै सार्वजनिक हुने सम्भावना कम छ’, कार्यालय सचिव अधिकारीको भनाइ छ ।
एमालेले चुनावी घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो ।
मस्यौदा कमिटीको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहेका छन् ।
मस्यौदा कमिटीले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर सुझाव सङ्कलन गरेको थियो । एमाले नेताहरूले यो पटकको चुनावी घोषणापत्र लामो नबनाउने बताउँदै आएका छन् ।
अघिल्लो निर्वाचनमा प्राथमिकतामा राखेका विषयहरूलाई समेत समेटेर तयार गरिने घोषणापत्रमा राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।