विमानस्थलमा सुरक्षा व्यवस्था कडाः २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

काठमाण्डु टुडे २०८२ फागुन १ गते ११:४१ मा प्रकाशित

काठमाण्डू १ फागुन– आज (शुक्रबार) पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाण्डू आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान समेत गरेको छ ।

स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन ।

उनले भने, ‘गोल्डेनगेट भित्र प्रवेश गर्न रोक लगाइएको छ, बाहिर सडकमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us