काठमाण्डू, १ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाईं समूहसहित राजावादीले अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्ने तयारी गरेका छन् ।
रावादाीले झापाबाट काठमाण्डू आउने क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम तय गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको थियो । प्रवक्ता मोहन श्रेष्ठले निषेधाज्ञाबीच आफूहरु ज्ञानेन्द्रको स्वागतमा विमानस्थल जाने बताए ।
उनले पूर्वराजा आउने कार्यक्रमलाई लक्षित गरेर निषेधाज्ञा लगाइएको दाबी गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न खोजेकाले निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् ।
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पूर्वस्वीकृति नलिएको भन्दै विमानस्थल आसपास क्षेत्रमा एक महिनाका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको बताएका थिए ।