काठमाण्डू, १ फागुन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार एक सन्देश जारी गर्दै उनयुद्धका बाँकी लक्ष्य हासिल गर्न आफूहरु नयाँ ढंगबाट अघि बढिरहेको बताए ।
प्रचण्ड नेतृत्वमा १ फागुनमा २०५२ बाट सुरु भएको सशस्त्र जनयुद्ध ४ मंसिर २०६४ मा तत्कालीन राज्य पक्षसँग विस्तृत शान्ति सम्झौता भएसँगै औपचारिक रुपमा समाप्त भएको थियो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड जनयुद्धको आधारभूमि मानिले रुकुमपूर्वबाट उम्मेदवार छन् । शुभकामना सन्देशमा उनले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिइएको उल्लेख गरेका छन् ।
उनले यसपटकको जनयुद्ध दिवस आफ्ना लागि विशेष भएको समेत बताए । ‘म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु’, प्रचण्डले भनेका छन्, ‘जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौं ।’
रुकुमेली जनताको उत्प्रेरणाबाट जनयुद्धमा ऊर्जा प्राप्त गरेको स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजाति समुदायको निर्णायक योगदान रहेको बताए ।
प्रचण्डले ०८४ मा हुनुपर्ने प्रतिनिधिसभाको निर्वाचन ०८२ मा गर्नुपर्ने अवस्थाले मुलुकको वर्तमान राष्ट्र चुनौतीपूर्ण र कठिन अवस्थाबाट अघि बढिरहेको बताए ।
इतिहासका प्रेरणाबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले वर्तमान संकटलाई समाजवादको नयाँ यात्रा सुरु गर्ने अवसरका रूपमा बताए ।