काठमाण्डू, २८ माघ– नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी नेतृत्वको कमजोरीका कारणले एमालेका कार्यकर्ता इतिहासमै पहिलो पटक रक्षात्मक अवस्थामा रहेको टिप्पणी गरेका छन ।
चुनावी तयारीबारे नेकपाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भिडिओमा आफ्नो पार्टीले १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि आत्मविश्वास देखिएको समेत उनको दाबी छ । उनले भने, ‘हाम्रो रिपोर्ट धेरै सकारात्मक छ । इतिहासमै पहिलो पटक एमालेका कार्यकर्ताहरू रक्षात्मक भएका छन् ।
भदौ २३ गतेको दमन र पार्टी नेतृत्वको बदमासीको कारणले । जेजे भएपनि फेरी कांग्रेस त फुटिसक्यो । नयाँहरूको बिस्तारै पहिलाको ग्राफ घटिरहेको छ ।’ उनले काठमाण्डूसहित देशैभरी नयाँ दलको लोकप्रियता खस्किएको भन्दै प्रियतावाद र स्टन्टबाजी लामो समय नटिक्ने बताए ।
उनले भने, ‘यो पानीको फोका जस्तै मात्रै हो । रास्वपा र बालेनको बिचमा भएको सहमतिमा प्राविधिक कुरा देखि बाहेक न दर्शनको कुनै संकेत छ, न विचार छ, न सिद्धान्त छ, न त्यहाँ चाहिँ राजनीतिक कार्यदिशा छ, न त्यहाँ रणनीति छ, हैन न त्यहाँ दृष्टिकोण छ, त्यहाँ न नीति छ, न योजना छ, न कार्यक्रम छ। एजेन्डा नै स्पष्ट छैन ।’
उनले आफ्नो पार्टी जनतालाई राम्रोसित स्थापित हुँदै गएको पनि बताएका छन । उनले भने, ‘हामीले जनतासित आत्मालोचना गरेपछि हामीप्रति मन फर्किएको छ । हाम्रो वर्ग दृष्टिकोणका आधारस्तम्भ तिनीलाई हामीले नजरअन्दाज गरेका थियौँ ।
हामीबाट गल्ती भएकै हो, कमजोरी भएकै हो । हामी त्यो कमजोरी सच्याउँछौँ । देशका लागि जस्तोसुकै चाहिँ पहलकदमी लिनका लागि पनि तयार छौँ ।’