काठमाण्डू, २६ माघ– नेपालमा ९६।७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ मा उक्त तथ्यांक उल्लेख छ ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९९.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८०.८ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ ।
सहरी क्षेत्रमा ९८.२ र ग्रामीण क्षेत्रमा ९३.७ प्रतिशत घरपरिवारमा विद्युत सेवा पुगेको सर्वेक्षणले देखाएको छ । काठमाण्डू उपत्यकामा पनि शतप्रतिशत परिवारमा विद्युत पुगेको छ ।
यस्तै सर्वेक्षणअनुसार ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सेवा सुविधा पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ९७.१ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९२.६ प्रतिशत परिवारमा टेलिफोन सेवाको पहुँच विस्तार भएको छ ।