काठमाण्डू, २६ माघ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण सोमबार बिहान तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहेको छ ।
महाशाखाले सोमबार दिउँसो तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहने जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया खुल्ला रहनेछ ।
त्यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा दिउँसो हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति पनि तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने अनुमान गरिएको छ । रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।