सप्तरीमा शंकास्पद वस्तु विस्फोट, ४ बालक घाइते

काठमाण्डु टुडे २०८२ माघ २४ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, २४ माघ– सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा परी ४ जना बालक घाइते भएका छन् । सो ठाउँमा बनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए ।

चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो । उक्त विस्फोटमा छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

चारै जनालाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । घाइतेमध्ये साहस र प्राशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले बिर्सिएर छोडेको वा बम विस्फोट गर्ने क्रममा असफल भई हराएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । बालकलाई भेटिएको ती शंकास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us