काठमाण्डू, २४ माघ– कुनै समय सुदूरपश्चिम एमालेमा भीम रावलको दरिलो दबदबा थियो । केन्द्रीय उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्ज रहँदा उनले जे भन्यो कार्यकर्तास्तरसम्म अक्षरसः पालना हुने गरेको थियो ।
त्यो बेला कतिपयले सुदूपश्चिमको भूगोलबाट देशको राजनीतिमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि रावलले नै सर्वोच्च स्थान बनाउने नेताका रूपमा व्याख्या समेत गर्ने गर्थे । एमालेभित्र निरन्तरको उकालो चढानकै कारण त्यो व्याख्यामा असहमति जनाउने ठाउँ थिएन । सोही कारण सुदूरपश्चिमको भूगोलबाट एमालेमा प्रतिनिधित्व गर्ने नेताकार्यकर्ता रावलले जे भन्यो त्यही मान्नैपर्ने अवस्थामा थिए । तीनै रावल हाल एमालेमा छैनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बनाउन नसकेका कारण २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ मा उनले टिकटसम्म पाउन सकेनन् । उनी पछिल्ला तीन वर्ष संसदीय शक्तिबाट बाहिर हुँदा भूमिकाविहीन बने । त्यसैक्रममा उनी पार्टीको कारबाहीमा परेर निष्काशित भए । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी९नेकपा०मा छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाले उनलाई अछाम–१ मा उम्मेदवार बनाएको छ । अछामको चुनावी मैदानमा रावल अहिले पहिले एमालेका ‘भीम रावल’ जस्ता प्रभावशाली नेताका रूपमा उपस्थित छैनन् । न उनको साथमा एमालेको शक्तिशाली संगठन नै छ । न आममतदाताले भविष्यमा देशको सर्वोच्च नेतृत्वमा पुग्नसक्ने आशा–विश्वास गरेका छन् ।
तर, नेकपाका नेता रावल आफैले भने त्यही सम्भावनालाई संकेत गर्दै आफूलाई प्रस्तुत गरिरहेका छन् । अधिकांश मतदातासमक्ष उनले स्थानीय भाषा९अछामी०मै मन्तव्य दिन्छन् । आफू भविष्यमा देशको नेतृत्वमा पुग्ने दाबी गर्दै सहयोग गर्न आग्रह गर्छन् ।
यसैक्रममा रावलले कांग्रेस निवर्तमान सभापति देउवाको नाम प्रयोग गरेर सहानुभूति लिने प्रयास पनि गरिरहेका छन् । यसैक्रममा शुक्रबार अछामी भाषामै दिएको एक मन्तव्य सामाजिक सञ्जालमा अहिले भाइरल छ । त्यसमा उनले देउवालाई सम्झेका छन् ।