बालेनका सल्लाहकार लम्साललाई उम्मेदवार बनाएपछि असन्तुष्ट कुँवरले छाडे रास्वपा

काठमाण्डु टुडे २०८२ माघ २२ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, २२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले रास्वपा परित्याग गरेका छन ।

पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको उनले बताएका छन । रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए ।

तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन् । उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरले लगाएका छन । ‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ ।

तर भएन,’ कुँवरले भने, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो ।’

रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ । उनले अब आफू रवि लामिछाने वा अरु कसैले भने पनि रास्वपामा नफर्किने घोषणा गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us