झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड

काठमाण्डु टुडे २०८२ माघ २२ गते १२:२० मा प्रकाशित

काठमाण्डू, २२ माघ– झापा– ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ ।

उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ ।

‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने ।

झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले अनुसन्धान अघि बढाएको र दोषीको खोजी सुरु गरिसकेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us