काठमाण्डू, २१ माघ– गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ राजचौर निवासी ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा भेटिएका छन ।
मंगलबार बिहान करिब १० बजे घरबाट तम्घास जान्छु भन्दै हिंडेका कुमाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बुधबार बिहान करिब ११ बजे इस्मा–२ स्थित छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हस्तिचौर गुल्मीबाट प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमाण्डमा टोली खटिएको थियोे ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमाण्डमा टोली घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।