काठमाण्डूबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’

काठमाण्डु टुडे २०८२ माघ २१ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, २१ माघ– काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १स्२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन । उनका अनुसार टर्किसको ‘ए३३०–३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।

टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।

‘त्यसपछि हामीले दमकल, एम्बुलेन्स लगायत आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरेर विमानस्थल बन्द गर्‍यौं,’ महाप्रबन्धक सिटौलाले भने, ‘तर, टर्किस चालकदलले भारतको कोलकाता डाइभर्ट गर्छौं भनेपछि हामीले अनुमति दियौं ।’

सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us