अरूलाई कटाक्ष गर्दैनौ, आफ्ना योजना कार्यान्वयन गर्छौँः ईश्वर पोखरेल

काठमाण्डु टुडे २०८२ माघ २१ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, २१ माघ– एमाले नेता एवं काठमाण्डू–५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको बताएका छन । आज (बुधबार) एमाले निकट प्रेस चौतारी नेपालले काठमाण्डूमा आयोजना गरेको उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन ।

एमाले नेता पोखरेलले एमालेविरुद्ध देशभित्र र बाहिरबाट पनि षड्यन्त्र भइरहेको बताएका छन । एमाले नेता पोखरेलले भने, ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा मजबूत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ, ‘हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।’

नेता पोखरेलले राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको सवाल उठाएर पार्टीले घोषणापत्र बनाउने भन्दै सामाजिक सदभाव राष्ट्रिय एकताको आधार भएकाले त्यो भत्काउने कुरामा एमाले सहमत हुन नसक्ने बताए । नेता पोखरेलले एमाले अरूमाथि कटाक्ष गर्ने नभई आफ्ना कार्ययोजनामा केन्द्रीत भएर काम गर्ने पार्टी भएको दाबी समेत गरे ।

उनले जेनजीले उठाएका माग अनुचित नभएको भन्दै जेनजी आन्दोलन हाइज्याक भइसकेपछि स्थिति षड्यन्त्रतर्फ धकेलिएकाले त्यसपछि के के भयो भन्ने कुरा प्रस्ट भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us