काठमाण्डू, २१ माघ– पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन २०७९ सालको निर्वाचनमा जन्डिसले थलिएर कहिले अस्पताल त कहिले घरमै आराम गरिरहेका हुन्थे । यो निर्वाचनमा भने पुन गृहजिल्ला रोल्पामा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पामा पुन उम्मेदवार छन् ।
माओवादी सशस्त्र संघर्षको उदगमथलो रोल्पाबाट उनी ०७४ र ०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भए । आगामी २१ फागुनमा हुने निर्वाचनमा तेस्रोपटक उम्मेदवार बनेका पुन ह्याट्रिक जितको खोजीमा छन् ।
अघिल्लो निर्वाचनको पूर्वसन्ध्यामा बिरामी भएर भोट माग्न नपाए पनि यसपटक जिल्लाका सबै वडामा पुग्ने लक्ष्य रहेको पुनले बताएका छन । रोल्पा एक नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तह रहेको रोल्पामा ७२ वडा छन् । ‘यसअघिको चुनावमा बिरामी थिएँ । स्वास्थ्य समस्याले सबैतिर पुग्न सम्भव भएन,’ पुनले भने, ‘योपटक सबै वडामा पुग्छु ।
मतदातासँग प्रत्यक्ष साक्षत्कार गर्छु र सुझावहरु लिन्छु ।’ सोमबार रुण्टीगढी गाउँपालिकाका सबै ९ वटा वडा घुमेर भ्याएका पुनले मंगलबार त्रिवेणी गाउँपालिकाका सातै वडामा दरदैलो गरे । घरदैलोका क्रममा मतदाताले सामान्यभन्दा सामान्य माग राखेको पुन बताउँछन् । विकास निर्माणसँग सम्बन्धित सुझावहरु धेरै आएको उनले बताए ।
‘मतदाताका माग स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी र सञ्चारसँग सम्बन्धित धेरै छन्’, उनले भने । मतदाताले पहिलाको तुलनामा जिल्लामा भौतिक पूर्वाधारको विकास धेरै भए पनि पर्याप्त नभएको विषयमा ध्यानाकर्षण गराएको पुनले उल्लेख गरे ।
कतिपय मातदाताले चालु आयोजनामा निर्माण व्यवसायीबाट हुने गरेका ढिलासुस्ती, आयोजनाको गुणस्तर तथा सरकारी निकायको फितलो अनुगमनजस्ता विषयमा जनप्रतिनिधिको रुपमा थप भूमिका खेलिदिन सुझाव दिएका छन् ।
राजनीतिक रुपमा सचेत आफ्ना मतदाता सांसदको विधायकी कामबारे स्पष्ट रहे पनि जनप्रतिनिधिका रुपमा विकास निर्माणका काममा पुलको भूमिका खेल्नुपर्ने सुझाव आउने र त्यसलाई उम्मेदवारहरूले स्वीकार गर्नुपर्ने तर्क पुनको छ ।
‘