निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छः प्रधानमन्त्री कार्की

काठमाण्डु टुडे २०८२ माघ २१ गते ११:४४ मा प्रकाशित

काठमाण्डू, २१ माघ– प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी गराएकी छन ।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी गराएकी हुन । उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताए । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र ?

३१–३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै । त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’

उनले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने पनि बताएका छन ।’ कहीँ कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् ।

हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने बताइन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us