हुम्लामा मतदाता नभएको मतदान स्थल

काठमाण्डु टुडे २०८२ माघ २० गते १७:१२ मा प्रकाशित

काठमाण्डू, २० माघ– आगामी २१ फागुनमा देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ ।

आयोगले मतदान केन्द्र, मतदान स्थलहरूको टुंगो लगाइसकेको छ निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतदाताको संख्या पनि टुंगो लागिसकेको छ । हरेक गाउँमा निर्वाचन गतिविधि बढिरहँदा हुम्लाको लिमीको जाङ गाउँ भने सुनसान छ ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमिको जाङ गाउँ अहिले रित्तै छ । १० वर्षअघि ६७ घरधुरी रहेको जाङ गाउँ अहिले भने खाली भएको छ । तीन वटा मतदान स्थल रहेको लिमि जाँङ गाउँको भृकुटी आधारभुत विद्यालयको मतदान स्थलमा २४७ मतदाता संख्या रहेको तथ्यांक छ ।

तर, मतदाता गाउँमा छैनन् । यता नाम्खा गाउँपालिका–६ को हल्जी पनि अहिले सुनसान छ । हिमपात नहुँदा गाउँका केही घरमा मान्छे बस्ने भए पनि अहिले चिसो झल्न गाउँ छोडिसकेका छन् । यहाँको सुनखानी आधारभूत विद्यालयको हल्जी मतदान स्थलमा २९३ जना मतदाता भए पनि अधिकांश काठमाण्डू, भारतका विभिन्न सहर गएका छन् ।

त्यस्तै तिलमामा रहेको हिमशिखर आधारभूत विद्यालय मतदान स्थलमा मतदान गर्नेको सूची १३२ छ । तर अधिकांश चीनको ताक्लाकोट, काठमाडौं, भारतको दिल्लीलगयातका सहरमा छन्। उत्तरी भेगमा अहिलेको अवस्थामा निर्वाचन गराउन नसकिनेबारेको जानकारी गृहमन्त्रालय र निर्वाचन आयोगलाई गराइसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिएका छन ।

उनले उत्तरी क्षेत्रका केही गाउँमा अहिले केही मान्छे बसिरहेको भए पनि ती ठाउँमा जान–आउन सक्ने अवस्था नभएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us