एमालेको गीतमा नाचेपछि विवादमा स्मारिका

काठमाण्डु टुडे २०८२ माघ २० गते १७:०० मा प्रकाशित

काठमाण्डू, २० माघ– एमालेको गीतमा नाचेपछि अहिले टिकटकर तथा मोडेल स्मारिका ढकाल विवादमा परेकी छिन्। सामाजिक सञ्जालमा भाइरल क्लिपमा एमालेको चुनावी प्रचार गरिएको छ ।

निलो कलरको सारीमा स्मारिका देखिएकी उनी ‘एमाले हुँ म, मलाई एमाले मन पर्छ’ गीतमा नाचेकी छिन्। तर गीत भने सार्वजनिक भएको छैन। हाल छायांकन मात्र सकिएको जानकारी दिइएको हो ।

भिडियो बाहिर आएपछि सामाजिक सञ्जालमा ढकाललाई एमालेको झोले हो भन्दै गाली आइरहेको छ। आलोचनापछि उनले सो म्युजिक भिडियो सार्वजनिक हुनु अघि नै भिडियो सन्देशमार्फत माफी मागेकी हुन् । उनले चुनावी गीतमा काम गरेपछि पछुतो लागेको भन्दै भनेकी छिन्, ‘अहिले पछुतो लागिरहेको छ ।

भिडियोले गर्दा त्यति फरक पर्छ जस्तो लागेको थिएन । र गीतको म्युजिक भिडियोको टिमसँग म पहिला पनि काम गरिसकेकी छु।’ उनले थपिन्, ‘मैले छायांकनको सेटमा मेकअप गरेर तयार भइसकेपछि थाहा पाएँ उक्त गीत एमालेको हो। मलाई अप्ठ्यारो लागे पनि निर्माण टिमले तिमीलाई केही हुँदैन, तिमी एक कलाकारको रूपमा काम गर भन्यो।’

म्युजिक भिडियोको छायांकन सकिएपछि उनले उक्त भिडियोको खर्च बेहोर्न तयार रहेको बताउँदै हटाउन अनुरोध गरेको कुरा पनि उल्लेख गरेकी छिन् । तर निर्माण पक्ष तयार भएन ।

उनले भनिन्, ‘म घर आएर निर्माण पक्ष दाइलाई भने दाइ बरु जति खर्च लागेको छ म बेहोर्छु, तर त्यो भिडियो हटाइदिनु। भन्दा दाइहरूले त्यस्तो नसोच, त्यसो केही हुँदैन भन्नुभयो। त्यो दिन म टेन्सनमा थिएँ ।’

ढकाल अगाडि भन्छिन्, ‘मलाई माफ गरिदिनुहोला। गल्ती गरिहालेँ। अब त्यो भिडियो कहिले आउँछ, मैले हटाउन भन्दा पनि उहाँहरूले हटाइदिनुहुन्न। मैले अब के गर्ने ?

म केही गर्नै सक्दिनँ। त्यही भएर मलाई माफ गरिदिनु। कोही पनि नरिसाउनु। मैले जानीजानी गरेको होइन। जानीजानी त हो तर अब के भन्नु ।’ सो अवसरमा उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट पारिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us