प्रदेश सरकारहरूले कानुन कार्यान्वयनको क्षमता देखाएनन्ः कांग्रेस नेता सिटौला

काठमाण्डु टुडे २०८२ माघ २० गते १६:४७ मा प्रकाशित

काठमाण्डू, २० माघ– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले आफ्नो अधिकारअनुसार कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको तर्क गरेका छन ।

आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कांग्रेस राष्ट्रिय सभा सदस्य समेत रहेका नेता सिटौलाले यस्तो बताएका हुन । उनले प्रदेश सरकारहरू संघ सरकारकै भर पर्ने प्रवृत्तिको कारण संविधानले दिएको एकल अधिकारको प्रयोग नसकेको बताए ।

उनले भने, ‘संघीयताको मर्म र भावनाबमोजिम विगतमा संघीय सरकारले काम गर्न सकेन । जुनसुकै सरकार भएपनि त्यसअनुरुप काम गर्न सकेन । मूल समस्या यही हो ।

प्रदेश सरकार समेत केन्द्रकै भर पर्ने भएका छन् । बरु स्थानीय तहले केही गर्न खोजेको देखियो । संघीयता मर्मबमोजिम प्रदेश सरकारहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै सकेनन् ।’

संघीय सरकारले समेत संघीयताको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताउँदै उनले साझा अधिकारको प्रयोगमा समस्या देखिनु स्वभाविकै भएपनि एकल अधिकारको प्रयोगमा समेत प्रदेश सरकारहरूले अपेक्षित क्षमता देखाउन नसक्नु दुःखद भएको जिकिर गरे ।

उनले भने, ‘आफ्नो अधिकार बमोजिम कानुन बनाउने र त्यसलाई लागु क्षमता उनीहरूले राख्नै सकेनन् भन्ने मलाई लाग्छ । संविधानले अुनसूचीमा जति अधिकारको बाँडफाँड गरेको छ, ‘साझा अधिकारको सन्दर्भमा एक्लै जान नसक्दा समस्या भएपनि एकल अधिकार प्रयोग गर्न प्रदेश सरकारहरूले आफ्नो क्षमता प्रकट गरेको भए हुन्थ्यो । स्थानीय तहलाई कानुन निर्माण गर्नकेो लागि माथिबाट एउटा निर्देशन नै चाहिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us